बिहीबार, भदौ ४, २०८३

धवलागिरिमा शैक्षिक उन्नयन कार्यक्रम

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

म्याग्दी- धवलागिरि गाउँपालिकाले विद्यार्थीमा सिकाइ उपलब्धि बढाउन शैक्षिक उन्नयन कार्यक्रम सुरुआत गरेको छ। क्वालिटी एजुकेसन नेपाल अस्ट्रेलियाको आर्थिक एवं प्राविधिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्था र गाउँपालिकाको साझेदारीमा पालिकामा सबैका सबै २८ विद्यालयको १–५ तहमा चालु शैक्षिक सत्रदेखि कार्यक्रम थालिनी गरेको हो। 

सिकाइ उपलब्धि बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी गरेर बालमैत्री शिक्षण विधि अपनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले जानकारी दिए। शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रदर्शनी गर्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक विषयमा जानकारी गराउन सात दिनसम्म तालिम दिइएको छ। 
कार्यक्रमका लागि धवलागिरि गाउँपालिका र क्वालिटी एजुकेसन नेपाल अस्ट्रेलियाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताए। चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने उपाध्यक्ष रेशम पुन मगरले बताए। 

यो कार्यक्रम लागू भएको विद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र विद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रदर्शनी गर्नेछन्। अन्नपूर्णमा विगत ९ वर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगङ्गा गाउँपालिकामा विसं २०७६ देखि सुरु भएको थियो। विद्यार्थीको सिकाइ उपलब्धि बढाउन प्रभावकारी देखिएपछि धवलागिरि गाउँपालिकाले पनि कार्यक्रम लागू गरेको हो।  वातावरण रमाइलो बनाएर बालबालिकाको सिकाइलाई सुधार गर्न कक्षा कोठाका भित्ता, झ्यालदेखि बीच भागमा रसी तानेर कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्यहरु लेखेर झुन्ड्याएका छन्। 

शिक्षक र विद्यार्थी मिलेर कक्षा कोठामा पाठको सन्दर्भ अनुसारका सहयोगी शैक्षिक सामग्री तयार गरेर प्रदर्शन गरेका छन्। शिक्षक, विद्यार्थीमा सिर्जनशीलताको विकास भएको छ। पूर्वप्राथमिक र प्राथमिक तहका विद्यार्थीहरुलाई गीत, नृत्य र खेलकुदको माध्यमबाट पढाउने गरिएको छ। विद्यार्थीले नबुझेको र बिर्सिएको कुनै विषयमा कक्षा कोठामा प्रदर्शन गरिएको सामग्रीबाटै सिक्ने अवसर पाउने धवलागिरि गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालले बताए।

प्रकाशित: May 03, 2023| 19:44 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्