बिहीबार, भदौ ४, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो थर्किंदै

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमाथि नेपाल प्रहरीले धावा बोलेको छ। यो प्रकरणमा अहिलेसम्म ७ जना पक्राउ परिसकेका छन् भने अन्य केहीलाई पक्रिन प्रहरीले अदालतबाट अनुमति लिएको छ। 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दै जाँदा यस प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू पनि मुछिएका छन्। 

आजमात्रै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। गृहसचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा उनी समातिएका हुन्। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।

पक्राउ परेलगत्तै उनलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

यसैगरी हिजो मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए। यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा राई र पाण्डे पक्राउ परेका हुन्। राईले मात्रै ५ करोडभन्दा बढी रकम लिएको खुलेको छ। मन्त्रीको सल्लाहकार हुँदा गृह मन्त्रालयभित्र सहजीकरण गरिदिने भन्दै उनले रकम लिएको देखिएको छ। 

यही प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलाल पनि पक्राउ परेका छन्। सानु भट्टराई र टंककुमार गुरूङ पनि समातिएका छन्। 

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। रायामाझी पूर्व उपप्रधानमन्त्री र बहालवाला सांसद हुन्। यही प्रकरणमा उनका छोरा सन्दीप रायामाझी पनि मुछिएका छन्। उनीविरूद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। 

पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पक्राउ परेका इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी एवं संगठित अपराधमा अनुसन्धान गरिरहेको छ भने पुर्जी जारी भएकाहरुलाई खोजिरहेको छ। पीडितले आफूहरूलाई ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि अनुसन्धान थालेको प्रहरीले पुख्ता प्रमाण जुटाएपछि मानिसहरुलाई पक्राउ गर्न थालेको हो। 

प्रकाशित: May 03, 2023| 17:30 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्