काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा पुनः जमिन भासिएको छ। बन्द भएको १८ घन्टापछि हिजो मंगलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि पुनः बन्द भएको हो।
धुनिबेंसी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सीमा जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवैतर्फी सवारी आउजाउ बन्द भएको छ।नयाँ पुल निर्माणका लागि फाउन्डेसन खन्ने क्रममा पुरानो पुलको फाउन्डेसन भएको जमिन भासिन पुगेको हो।
सोही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो। अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताए। एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि हिजैदेखि जोखिम टरेको थिएन।