बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • व्यवसायी कँडेल मृत्यु प्रकरण: दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

व्यवसायी कँडेल मृत्यु प्रकरण: दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन्।

उनीहरुको मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको हो।

अनमोल फिड कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुंगटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावलविरुद्ध किटानी जाहेरी परेको हो।

कांग्रेस नेतासमेत रहेका कँडेल भरतपुर महानगरपालिका-३ बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका थिए। त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो।

परिवारका अनुसार केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिमा संकट देखिएपछि केही सेयर बाँकी राखेर ८५ प्रतिशत सेयर प्रदीप रुंगटालाई बेचेका थिए। सेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुंगटा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीको भनाइ छ। 

यसैबीच नेपाली कांग्रेस चितवन सभापति खनालले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन्। कँडेलको हस्ताक्षर भएको नोटमा उल्लेखित पात्र, प्रवृत्ति र वर्तमान आर्थिक अवस्थाको गम्भीर संकेत गरेको भन्दै सम्वेदनशील भई राज्यको तर्फबाट घटनाको छानबिन गर्न कांग्रेसले माग गरेको छ।
 

प्रकाशित: May 03, 2023| 13:54 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्