काठमाडौं– दार्चुलाको व्यास गाउँपालिका–१ मा हिजो गएको हिमपहिरोमा परी सम्र्पकविहीन रहेका पाँचमध्ये दुई महिला र एक पुरुषको शव फेला परेको छ।
मंगलबार हिमपहिरोमा परी सम्पर्कविहीन भएका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ भने पाँच जना सम्पर्कविहीन थिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केही बेरअघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन जनाको शव भेटिएको पुष्टि गरेका हुन्।
‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगिसकेको छ। शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन,’ उनले भने।
मंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। ‘हिजो पनि राती ९.३० बजेसम्म खोजीमा जुट्यौं। आज पनि बिहानबाट टोली खटिएको छ’, उनले भने।
उनका अनुसार सो क्षेत्रमा यार्सा संकलक त्रिपालमा बसिरहेका थिए।