शुक्रबार, जेठ १, २०८३

नेपालको प्रतिव्यक्ति आय १ हजार ३९९ डलर

राष्ट्रिय तथ्यांक कार्यालयबाट सार्वजनिक आव २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकअनुसार प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ३९९ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन अमेरिकी डलर १ हजार ४१० बराबर देखिएको हो।
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर १ हजार ३९९ अर्थात् १ लाख ८२ हजार ६८३ बराबर पुगेको छ।

National life

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ३९९ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन अमेरिकी डलर १ हजार ४१० बराबर देखिएको हो।

यस वर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर उपभोक्ता मूल्यमा १.८५ प्रतिशत र आधारभूत मूल्यमा २.१३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ।

तथ्यांक कार्यालयका अनुसार चालू आवमा नेपालको जीडीपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड बराबर पुग्ने अनुमान गरिएको छ। 

जीडीपी अनुपातमा नेपालको कुल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५.२१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड बराबर पुग्ने प्रक्षेपण गरिएको छ। त्यस्तै, अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्स्पेन्डिचर) जीडीपी अनुपातको ९३.५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ, जुन ५० खर्ब ३६ अर्ब १५ करोड बराबर हो।

जीडीपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७.१५ प्रतिशत बराबर छ। यस वर्ष ३ खर्ब ८५ अर्ब ११ करोड बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान छ। 

जीडीपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६.५ प्रतिशत बराबर छ। नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ।

त्यसैगरी चालू मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कुल गार्हस्थ उत्पादनको ३१.६६ प्रतिशत बराबर छ। त्यस्तै, जीडीपीमा विप्रेषणको अनुपात २२.८९ प्रतिशत बराबर हुने ठानिएको छ।

चालू आवको जीडीपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ। गत आवमा कृषि क्षेत्रले जीडीपीमा २४.६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यस वर्ष घटेर २४.१२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ। 

तथ्यांक कार्यालयले चालू आवको पछिल्लो ९ महिने अवधिको तथ्यांक विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो।

प्रकाशित: May 03, 2023| 13:01 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्