काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै नेपाल बार एशोसिएसनको आन्दोलन आज चौथों दिन पनि जारी रहने भएको छ। गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलबार बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहनेछ।
'बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको छ, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गर्न नचाहेको हो, त्यो अझै बुझ्न सकिएको छैन तर अबिलम्ब प्रधानन्यायाधीश नियुक्ति गरेर न्यायालयलाई नेतृत्व दिनुपर्छ,' उनले भने, 'यदि कार्यपालिकाले न्यायालयलाई नेतृत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्को चरणमा लम्बिने छ।' उनका अनुसार शुक्रबारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ।