काठमाडौं- काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका १६ बोहराटारका डा सुजन ढकाल र उनका बाबु मुरलीप्रसाद ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बालाजुले डा ढकालका बावुछोरालाई नियन्त्रणमा नियन्त्रणमा लिएको हो।
आज म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाउने बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
उनका अनुसार प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएका थिए। आजै अदालतबाट उनीहरुविरुद्ध पक्राउको अनुमति लिएर खोजी भइरहेका बेला उनलाई बालाजु चोकबाट पक्राउ गरिएको हो।
वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोसी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइट नोट पनि फेला परेको प्रहरीले जनाएको छ।
उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेकाले सोही आधारमा उनका परिवारले आत्महत्या दुरुत्सानमा जाहेरी दिएका हुन्। प्रहरीका अनुसार डा ढकाल र मृतक श्रेष्ठबीच विगतमा प्रेम सम्बन्ध रहेको पाइएको छ।