बिहीबार, भदौ ४, २०८३

प्यूठानको ऐरावतीमा खानेपानी अभाव

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

प्यूठान- प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ। आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधैं हैरानी व्यहोर्नु परेको छ। 

ऐरावती गाउँपालिका –६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्ववडा सदस्य हुन्। आफ्नो कार्यकालमा जति सहजीकरण गर्न खोजे पनि पानी लिन नसकेकोमा उनी दुःखी छिन्।

“आधा उमेरसम्म खानेपानीको हाहाकारमा जिउनु परेको छ, सबेरै उठेर पँधेरो पुग्ने र घण्टौँ लाइन लागेर पानीको जोहो गर्नुपर्ने दैनिकि छ,” उहाँले भनिन्। प्यूठानका पहाडी भेगका केही स्थानीय बस्ती गर्मीयाम सुरु भएदेखि पिउने पानीको समस्या देखिन्छ। ऐरावती गाउँपालिकाको बिजुलीका अधिकांश बस्ती वर्षौँदेखि काकाकुल  बन्नु परेको छ। घण्टौँ लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ। 

बिहानै पँधोरो पुग्ने, घण्टौँ पालो कुर्ने र खोल्साको पानी भर्ने काममा गाउँका महिला वर्षौदेखि समस्यामा छन् तर अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन। ऐरावती गाउँपालिका–६ भित्रका बरमपोखरा, सेतीथुम, च्युरापानी, मणाईलगायत आधादर्जन बढी गाउँमा खानेपानीका लागि यस्तै समस्या छ। यहाँका डेढसय बढी परिवारले वर्षौदेखि खोल्सीको पानीले धौधौ प्यास मेटेका छन्।

बोकेको पानीले पशु चौपायालाई नपुग्ने भएपछि स्थानीयवासीले वर्षामा पानी जम्मा पार्न घरैपिच्छे घैटा बनाएका छन्। वर्षायाम बाहेक अन्य समयमा ती घैँटाको पानी सकिने गरेको छ। एकातिर महिला परिवार चलाउन घण्टौँ टाढाको बाटो धाएर पानी बोक्न बाध्य भएको स्थानीय जीवकला थापामगरको गुनासो छ। उनका अनुसार पानीकै समस्याले खेतबारी बाँझै छाडेर बसाइँ सर्ने पनि बढेका छन्। ऐरावतीको वडा नं ६ मा बितेको २१ महिनामा ४७ परिवार बसाइँसरेको तथ्याङ्क छ। गाउँमा पानीको समस्या देखाउँदै अधिकांश थातथलो छाडेने गरेका हुन्।  

नेपालमा सामान्यतयाः प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूतस्तरको सुविधा मानिन्छ। त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ।  तर पछिल्लो समय पहाडी जिल्लामा जथाभावी सडक निर्माण गर्दा पानीका मुहान पुरिने, सुक्ने जस्ता समस्या देखिने गरेका छन्। 

ऐरावतीको खानेपानीको समस्या हल गर्नका लागि ल्याइएको झिमरुक खोला बिजुली लिफ्ट आयोजना चार वर्षदेखि अलपत्र छ। खानेपानी लाइनको विषयमा विवाद हुँदा समयमा काम गर्न नसकिएको ऐरावती गाउँपालिकाले बताएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले विवाद समाधान गरी खानेपानी योजना निर्माण सम्पन्न गर्न लाग्ने बताए।

“केही विवादका कारण योजना अलपत्र जस्तै भएको हो, मेरो पहिलो प्राथमिकता खानेपानी पुर्‍याउन समन्वय गर्नेमा छ,” भण्डारीले भने। खानेपानी जस्तो संवेदनशील विषयमा सबै दल एक ठाउँ उभिई समाधान खोज्नुपर्ने उनको भनाइ छ।   -रासस

प्रकाशित: May 02, 2023| 20:29 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्