बिहीबार, भदौ ४, २०८३

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

मलेखु- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ।

धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो।

भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मेहम्मे छ। पूर्व-पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ।

पूर्व-पश्चिमबाट राजधानी काठमाडौँ आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेँसी, आदमघाटलगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ। बाटो एकतर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ। सयौँ सवारी सडकमा रोकिएकाले ती सवारीसाधन पार गराउन अझै केही घन्टा लाग्ने प्रहरीको भनाइ छ।

प्रकाशित: May 02, 2023| 17:39 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्