काठमाडौं- नमस्ते पे ले प्रमुख कार्यकारी अधिकृतमा प्रवीणराज पोखरेललाई नियुक्त गरेको छ। नवनियुक्त सीइओ पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
वैशाख १५ गते नेपाल डिजिटल पेमेंट्स कम्पनी लिमिटेडको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको छ। ‘विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी छ,’ नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले भने।
यस्तै नियुक्तिपछि पोखरेलले भने, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु।’
उनको बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको छ। यसअघि उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन्। यस्तै उनले युकेएड कोषको परियोजनामा मोबाइल फाइनान्सियल सर्भिस र भुक्तानी प्रणाली सल्लाहकारका रूपमा काम गरेका छन् भने नेपालमा डिजिटल भुक्तानीमा धेरै कोसेढुङ्गाहरू हासिल गरेका छन्।