धनगढी- कञ्चनपुरमा नाबालिकामाथि जर्बजस्ती करणी गर्न खोजेको आरोपमा एक जना सशस्त्र प्रहरी हवल्दार पक्राउ परेका छन्।
सोमबार प्रहरीले भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई पक्राउ गरेको हो।
अमरसिंहविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा द्यर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीले बताए। बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत रहेकोमा बुवा बिरामी भएको बहाना बनाएर १५ दिनको घर बिदामा आएका थिए।
आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिक सुतेको घरमा जर्बजस्ती प्रवेश गरेको र नाबालिक कराएपछि घरका अन्य सदस्य तथा छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ। बुढा मोबाइलसहित केही सामान त्यहीँ छाडेर भागेका थिए।
पीडित नाबालिकका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेका हुन्। सशस्त्रको झलारीस्थित ३५ नम्बर गणका प्रमुख एसपी प्रेम रावलका अनुसार मुद्दा दर्ता भएपछि बुढा स्वत निलम्बनमा परेका छन्।