काठमाडौं- आज दिनभरि जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
‘देशै भरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलवार पनि उस्तै हुनेछ। ‘मङ्गलवार पनि पहाडी क्षेत्रमा वर्षा हुनेछ भने तराईमा केही मात्रामा घट्दै जानेछ, बुधवार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ’, उनले भने। उनका अनुसार बुधवारदेखि भने केही वर्षावाला मौसम कमजोर हुँदै जानेछ।
आज नेपाल र संयुक्त अरब इमिरेट्स युएईका बिचमा सोमवार पुरा हुन नसकेको खेल आज हुँदैछ। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बखतमा पानी पर्न सुरु गरे पछि रोकिन पुगेको थियो। रोकिएको उक्त खेल सुरु गर्न प्रतिक्षा गरे पनि पानी नरोकिए पछि दिउँसो ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेको हो। जुन खेल आज ९ बजेबाट सुरु हुँदैछ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ।
देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।