बिहीबार, भदौ ४, २०८३

वीरगञ्जमा रात्रि बजार प्रभावकारी भएपछि फेरि लगाइँदै

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ। अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी तयारी गरिएको र सोहीअनुरुप यही वैशाखको २९ र ३० गते रात्रि बजार लागाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए।

रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय भएको उनको भनाइ छ।

माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म लाग्ने रात्रिबजारमा थरिथरिका स्टल राखिने छ। विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य जयप्रकाश खेतानले जानकारी दिए।

वीरगञ्जको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तररूपमा अघि बढाउने प्रयास गरिएको र यसबाट बजार चलायमान बन्ने महानगरप्रमुख सिंहको विश्वास छ।

वीरगञ्ज उद्योग वाणिज्य संघले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै महानगरप्रमुख सिंहले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताए।

उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास व्यक्त गरे।

नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटिमै राखेर बजार सञ्चालन गराइने बैठकले निर्णय पनि गरेको छ।

प्रकाशित: May 01, 2023| 22:17 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्