काठमाडौं- पश्चिमी वायुको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभावले देशभरको मौसम आइतबारदेखि बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो मौसम प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुने र बुधबारदेखि केही कमजोर हुने जानकारी गराए। ‘वर्षा मङ्गलबार पहाडमा धेरै तराई केही घट्छ भने आज बेलुकादेखि कम हुँदै जानेछ। बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा देखिन्छ’, उनले भने। मौसम बदलीसँगै भएको वर्षाले हिमाली क्षेत्रको पर्यटनमा अवरोध पुर्याएको छ।
महाशाखाले गरेको मौसमी विश्लेषणअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने देशैभरका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरिको सम्भावनासमेत छ।
महाशाखाले आगामी २४ घण्टाका लागि देशैभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्र प्रभावित हुनसक्ने भन्दै त्यसबाट हुनसक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ।