बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सांसद कोइरी पक्रन सहयोग माग्दै प्रहरीले लेख्यो सभामुखलाई पत्र

सांसद कोइरी पक्रन सहयोग माग्दै प्रहरीले लेख्यो सभामुखलाई पत्र

प्रहरी महानिरीक्षकको कार्यालयले आइतबार सभामुखका नाममा दोस्रोपल्ट कोइरीलाई पक्रिन सहयोगको याचना गर्दै पत्र लेखेको हो।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउका लागि सहयोग माग्दै संसद् सचिवालयलाई पत्र पठाएको छ। प्रहरीले कोइरी पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई दोस्रोपल्ट पत्र काटेको हो।

नक्साल प्रहरी मुख्यालयमा प्रहरी महानिरीक्षकको कार्यालयले आइतबार सभामुखका नाममा दोस्रोपल्ट कोइरीलाई पक्रिन सहयोगको याचना गर्दै पत्र लेखेको हो। प्रहरी प्रधान कार्यालयबाट सभामुखका नाममा लेखिएको पत्र प्राप्त भएको पुष्टि संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले गरे।

प्रहरी प्रधान कार्यालयले गत ७ पुसमा पनि संसद् सचिवालयसँग कोइरी पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो। उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो। तर पत्र आएपछि पनि सांसद कोइरी संसद् बैठकमा हाकाहाकी उपस्थित भएका थिए।

गत १९ चैतमा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि उक्त पत्रको औचित्य सकिएको बुझाइ सभामुख र संसद् सचिवालयको थियो। कोइरीले सभामुखलाई आफू बिरामी परेकाले बिदा स्वीकृति गरिदिन पत्र लेखे पनि १५ वैशाखको संसद् अधिवेशनको अन्तिम बैठकले अस्वीकारेको थियो। 

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ। २५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

उक्त घटनामा संलग्न रहेको अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो। जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी रिहा भएका थिए। 

प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भएपछि सभामुखले सांसद कोइरीलाई निलम्बन प्रक्रिया अगाडि बढाउनैपर्नेछ। हाल संसद्को अधिवेशन नरहेकाले कोइरी निलम्बन भएको सूचना जारी गर्नुपर्नेछ।

प्रकाशित: May 01, 2023| 14:13 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्