धनगढी- कैलालीको गोदावरी नगरपालिका-३ स्थित चौकिडाँडा महिला सामुदायिक वन अतिक्रमण गरी बनाएका घरटहरामा डोजर चलेको छ।
सब डिभिजन वन कार्यलय अत्तरियाले केही दिन अगाडि अतिक्रमित वन क्षेत्र खाली गराउन पत्राचार र माइकिङ गरे पनि त्यसको सुनुवाइ नभएपछि आज डोजर चलाएको हो।
केही महिना अगाडि बाढीपीडित र सुकुम्बासीको नाममा चौकिडाँडा महिला सामुदायिक वन अतिक्रमण गरी घरटहरा बनाइएका थिए। सब डिभिजन वन कार्यलय अत्तरियाका प्रमुख निराजन कडालका अनुसार वन अतिक्रमण गरेर बनाइएका ६ सय घरटहरामा डोजर चलाइएको हो।
तीन वर्षदेखि वन क्षेत्र अतिक्रमित गरी बस्दै आएकाहरूका घरटहरा भत्काएर पुरै क्षेत्र खाली गरिने उनले बताए।अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।













