काठमाडौं– सिन्धुपाल्चोकस्थित चीनसँग सीमा जोडिएको तातोपानी नाका दुईतर्फी सञ्चालनमा आएको छ।
२०७२ को भूकम्प र कोरोना महामारीलाई कारण बनाएर चीनले बन्द गरेको तातोपानी नाकाबाट आठ वर्षपछि आयात–निर्यात सुरु भएको हो।
चीनले यसअघि रसुवागढी नाका खुलाएको थियो।
सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालय प्रमुख दयानन्द केसीले बताए।
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि तातोपानी नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो।
सहमतिअनुसार नै नेपाल र चीन दुवैतर्फबाट यो नाकाबाट आयात–निर्यात खुलाइएको हो।
यसअघि तातोपानी नाका चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा थियो। अब नेपाली वस्तु निर्यातका लागि पनि यो नाका प्रयोग गर्न सकिनेछ।
नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमतिअनुसार तातोपानी नाकाबाट भूकम्पअघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिक आगमन खुला भएको हो।