काठमाडौं– नेपाललगायत विश्वर आज १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ।
दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, विभिन्न राजनीतिक दलका नेता र उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले मजदुरप्रति शुभकामनासहितको बधाइ दिएका छन्।
श्रमिक संघ–संगठनले श्रम हकाधिकार सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको समृद्धिको कामना गरेका छन्।
दिवस अवसरमा आज शुभकामना दिँदै उनले श्रम अधिकार सुनिश्चितताको कामनासमेत गरे।
श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हकाधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको उल्लेख गर्दै उनले यस दिवसले आफ्नो हकहिताधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पसिना बगाएर श्रमको उचित मूल्य अपेक्षा गरिरहेका श्रमजीवीको हकहिताधिकारका लागि राष्ट्रपति पौडेलले दिए शुभकामना।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको जनाउँदै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास उनको छ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुने बताए।
उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं समाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन्।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर तिनको हकहितको संवद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने प्रण गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका हुन्।
मे १ तारिख मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो। यो दिनलाई संसारभरिका मजदुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएका छन्।
सभापति देउवाले २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरूलाई पक्राउ गरेको स्मरण गरेका छन्।
‘नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान बिन्दु यही मजदुर आन्दोलन थियो। त्यसैले कांग्रेस र मजदुर सधैं एकअर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
२०१६ मा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको बताउँदै सभापति देउवाले आज पनि नेपालका श्रमजीवीले अनेक समस्यालाई बेहोरिरहनु परेको उल्लेख गरेका छन्।
मजदुर वर्गको हकहितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने सभापति देउवाले प्रतिबद्धता जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठले १३४आंै अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवस अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ढकालले श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धि र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक क्षणको सम्झना स्वरुप मनाइँदै आएको मे दिवसले सबैलाई संवाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गर्ने विश्वास लिएको बताएका छन्।
रोजगारदाता र श्रमिकबीचको सम्बन्धमा सुधार हुँदै गएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।
यतिबेलाको अनपेक्षित कठिन अवस्था, कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसँगै अर्थतन्त्र गतिशील हुने अपेक्षाको समय विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठेरो स्थितिमा पुगेको उनले स्मरण गरेका छन्।
उद्योग व्यवसाय सञ्चालन एवं यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण गर्न र सम्भावित समस्याको सामना गर्नुपर्ने कठिन समय रोजगारदाता र टे«ड युनियनबीच अझ बढी समझदारी सहकार्यका लागि अध्यक्ष ढकालले अपिल गरेका छन्।
यस्तै, रोजगारदाता परिषद्की सभापति श्रेष्ठले रोजगारदाता–श्रमिक सम्बन्ध सहज बन्दै गएकाले दिगो औद्योगिक शान्ति स्थापनामा जोड दिएकी छन्।
कोरोना महामारीबाट भएको नोक्सानी र परेको प्रभावबाट चाँडो क्षतिपूर्ति प्राप्त गर्न सरकारले लिएका नीतिसँगै सुधारको अपेक्षा गरेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै आएको आर्थिक मन्दीका कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आई मुलुक आर्थिक संकटतर्फ उन्मुख रहेकामा उनले चिन्ता व्यक्त गरेकी छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘कामको खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ। स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिकको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ।’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले हाम्रा अधिकार खोसिँदै छन्, संगठित हौं, प्रशिक्षित हौं र परिचालित हौं नारा तय गरेको छ। जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो संघर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गरे।
उनले भने, ‘हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त गर्यौँ तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत संगठित हौं, प्रशिक्षित हौं र परिचालित हुनलाई आह्वान गरेका हौं।’ नेपालमा विराटनगरमा २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो।
२०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइने गरेको छ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो।