बिहीबार, भदौ ४, २०८३

सवारी दुर्घटनामा चारको मृत्यु, दुईजना मृत फेला

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित सडकमा बा.४ च ७८४६ नम्बरको कारले स.८ प १५४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा धनुषाधाम नगरपालिका-९ बस्ने ४० वर्षीय कुल बहादुर थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राम जानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको दमक नगरपालिका-९ बरगाछीस्थित सडकमा प्र-१-०१-०१५ प ४२५१ नम्बरको स्कुटरलाई प्र १-०२-०४३ प ८५२३ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ३० वर्षीय विबेक धिमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्ज्याङस्थित सडकमा बा.८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई सडकबाट भिरमा खसेर आइतबार बिहान दुर्घटना हुँदा काभ्रे पनौती नगरपालिका-७ बस्ने ४२ वर्षीय शिवशरण भोछीभोया सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १ जनालाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

बाराको निजगढ नगरपालिका-१ सिङ्गौलस्थित सडकमा ग.१ ख ९७१८ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार २८ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका ९ जनाको निजगढ नेशनल अस्पताल प्रालि र १९ जनाको प्रसुति अस्पताल निजगढबारामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्थामा गम्भीर, ११ जना मध्यम र ११ जनाको सामान्य रहेको छ। हाल फरार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु
कास्कीको पोखरा महानगरपालिका-१७ पावरहाउस फुर्से खोलामा डुबेर सोही महानगरपालिका-१५ नयाँगाउँ बस्ने १५ वर्षीय रोनिष गुरुङको शनिबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुरको बकैया गाउँपालिका-७ हातिखोलास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने राम कुमार राईकी छोरी ११ वर्षीया बिनिता राईको शनिबार दिउँसो मृत्यु भएको छ। सार्बजनिक जग्गामा सिंचाईको लागि खनेको उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवनमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

दुईजना मृत फेला
काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा बस्ने खोटाङ दिक्तेल नगरपालिका-४ घर भएका ६६ वर्षीय मनि प्रसाद राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

बाँकेको राप्तीसोनारी गाउँपालिका-१ तितेनिघारी बस्ने २६ वर्षीया अनिता घर्ती सोही ठाउँस्थित गाईलेख सामुदायिक वनको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चट्याङ लागेर मृत्यु
ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका-२ तोपाडाडा बस्ने ५७ वर्षीया देवमाया बुढाथोकीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको मन्थली अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भीरबाट लडेर मृत्यु
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ बन्चरे बस्ने राम बहादुर पहरीकी छोरी २ वर्षीया आकांक्षा पहरीको सोही ठाउँस्थित पहरी भिरबाट लडेर शनिबार साँझ मृत्यु भएको छ। भिरबाट लडेर गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 30, 2023| 13:11 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्