काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षामा सहभागीमध्ये ८ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो।
इपीएसमार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ कोरिया रोजगारीमा जान २३ फागुन २०७९ देखि १३ वैशाख २०८० सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक गरिएको हो।
वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार दोस्रो चरणमा ७ हजार ७५७ जनाका लागि लिइएको परीक्षामा २६ हजार ८७६ जनाले आवेदन दिएका थिए। तीमध्ये २४ हजार ३२६ जना सहभागी थिए।
कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि ३ हजार १ जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो।
ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूको आगामी २५ वैशाखदेखि ४ जेठसम्म सीप परीक्षा हुनेछ।
सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए।
अघिल्ला वर्षमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता यूबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएकाले पारदर्शी भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए।
शाखाले कृषि तथा पशुपालनतर्फको गत ४–८ पुससम्म आवेदन समय तोकेको थियो। इपीएसमार्फत सन् २०२२ सम्म कृषि तथा पशुपालन र उत्पादनतर्फ १५ हजार बढी नेपाली कोरिया रोजगारीमा पुगेको सरकारी तथ्यांक छ।