अमेरिकाको टेक्सासस्थित एक घरमा पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।
बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ। बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न आग्रह गरेका थिए।
सान ज्याकिन्टो काउन्टीका शेरिफ ग्रेग क्यापर्सले शुक्रबार राति ११:३० बजेतिर आक्रमणबारे फोन आएपछि निवासमा जाँदा डरलाग्दो दृश्य देखेको बताएका छन्।
आठदेखि ४० वर्ष उमेर समूहका परिवार घरको अगाडिको ढोकादेखि भित्री शयनकक्षसम्म मृत भेटिएका थिए। घरभित्र नरसंहारमा बाँचेका दुई जना बालबालिकालाई दुई महिलाले शरिरले छेकेर बचाएको तर महिलाहरू सुतेको अवस्थामा मृत फेला परेका थिए।