बिहीबार, भदौ ४, २०८३

अमेरिका-पाकिस्तान कूटनीतिक छलफल सकारात्मक दिशामा

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

आर्थिक संकट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो।  

अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वाशिंगटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानको लागि यस अघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्तिय पोषण र विदेशी सैन्य सामग्री बिक्री पुनर्स्थापित गर्नु महत्त्वपूर्ण रहेको बताए।  अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका–पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ।  अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ।

दक्षिण र मध्य एसियाका लागि अमेरिकी प्रमुख उप-सहायक विदेशमन्त्री एलिजाबेथ होर्स्टले संकटग्रस्त पाकिस्तानी अर्थतन्त्रको पुनर्निर्माणमा मद्दत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग काम गर्न आग्रह गरेको डनले उल्लेख गरेको छ।

पाकिस्तान र आईएमएफले सहमति जनाएका सुधारहरू सजिलो नभएको तर  पाकिस्तानले देशलाई आर्थिक सबलताको स्थितिमा फर्काउनका लागि यी कदमहरू चाल्नु आवश्यक रहेको एलिजाबेथ होर्स्टको बुझाइ रहेको छ।यसैबीच वाशिङ्टनले इस्लामाबादलाई आईएमएफसँग सहमति अनुरूपको ‘कडा सुधार’ कार्यक्रम लागू गर्न आग्रह गरेको छ। 

भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुनसक्ने टिप्पणी गरिएको छ। विल्सन सेन्टर वाशिङ्गटनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमहरूको पृष्ठभूमिमा अमेरिका-पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो। एक प्रश्नको जवाफ दिँदै राजदूत खानले पाकिस्तानले रुसी तेलको लागि पहिलो आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको पनि बताए।

सो अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो। अफगानिस्तानमा भएको आतङ्कवादको बृद्धिप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उनले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने धारण राखे। आतङ्कवाद आज पाकिस्तान र अफगानिस्तानका लागि खतरा बनेको छ। यसलाई नियन्त्रण गरिएन भने यसको असर अन्यत्र पनि देखिने उनको टिप्पणी छ।

प्रकाशित: Apr 29, 2023| 19:15 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्