काठमाडौं– काठमाडौं महानगरले चालू आर्थिक वर्षको चैतसम्म ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुलेको छ। यो रकम लक्ष्यको ६२.३३ प्रतिशत हो।
गत आव चैतसम्म ५ अर्ब ८ करोड ९७ लाख ८८ हजार असुलेको महानगरका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो।
महानगरले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो। गत आवमा ९ अर्ब ८ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो।
चालू आवका लागि हालसम्मको अवधिमा महानगरले सबैभन्दा बढी सम्पत्ति करबाट ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ। विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसके पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने महानगरको राजस्व विभागको भनाइ छ।
महानगरले सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा राजस्व असुल्दै आएको छ। विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ।
यस वर्ष महानगरका लागि बाह्य अनुदान रकम कम छ। आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ। पछिल्लो समय महानगरले राजस्व संकलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ।
महानगरले गत ३ फागुनमा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ। निर्देशिकाअनुसार कुनै पनि घरधनीले घर भाडामा लगाउँदा वा घर खाली गराएबारेकोे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ।
लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र अर्को एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ। सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ।