बिहीबार, भदौ ४, २०८३

राजापुरले बाँड्यो द्वन्द्वपीडितलाई राहत

आर्थिक वर्ष २०७९/८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक २ हजार भत्ता वितरण गरिएको हो।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

नेपालगञ्ज– बर्दियाको राजापुर नगरपालिकाले स्थानीय रुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ।
राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९÷८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक २ हजार भत्ता वितरण गरेको जानकारी दिए।

‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ’, उनले भने। प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुन्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए। 

नगरपालिकाले द्वन्द्वपीडितलाई सवल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि ६५ लाख बजेट छुट्याएको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट हुने आम्दानी करिब ७ करोड रहेको बताइएको छ। 

राजापुरकी द्वन्द्वपीडित रविना चौधरीले आफूहरुले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रशंसनीय काम भएको बताइन्। ‘हामीले केहीले बाख्रापालन गरेका छौं, केहीले सिलाइकटाइको काम गरेर जीवन चलाएका छौं’, उनले भनिन्।

चौधरीले आफूहरुलाई स्वास्थ्य बिमालगायत सुविधा आवश्यक भएकामा जोड दिँदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताइन्। 

नगरपालिकाका द्वन्द्वपीडित सुजन थारुले परिपूरण र क्षतिपूर्ति भए पनि द्वन्द्वपीडितलाई राहत हुने उल्लेख गर्दै द्वन्द्वका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताए। राजापुरमा १०६ जना द्वन्द्वपीडित स्वरोजगार कार्यक्रममा छन्। ‘परिपूरण र क्षतिपूर्ति भए, माफी दिँदा पनि राम्रो हुन्छ’, उनले भने।

प्रकाशित: Apr 29, 2023| 17:55 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्