सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन्।
२३ घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन, सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ। परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुस्किल हुन थालेपछि तरकारी खेतीमा लागेको किसान राजु पुरी बताउँछन्।
उनका अनुसार स्थानीय गैरसरकारी संस्था टुकी संघ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामग्री, बिउबिजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण गरिएको छ।
किसानको मागका आधारमा नै जापानी संस्था जाइकाको सहयोगमा आफूहरुले किसानसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको टुुकी संघ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले बताए।
यो बस्ती पनि सुक्खाग्रस्त क्षेत्र हो। सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन्। गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धाराबाट १५ मिनेटजति पानी आउँछ। त्यही पानीलाई जोहो गर्दै गोलभेंडा खेती गर्दै आएको स्थानीय देवकी गिरी बताउँछन्।
सिँचाइका लागि स्थानीय तहले प्रबन्ध मिलाइदिए तरकारी खेतीबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामा सुनाउँछिन्। ‘अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेंडा लगाएछौं। सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्नेछौं,’ लामाले भनिन्।
सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीमा यतिखेर टनेल देख्न सकिन्छ। टनेलभित्र खासगरी गोलभेंडाका बोट लोभ लाग्दा भएर लहलाउँदा छन्। कीरा नियन्त्रको व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत गरिरहेको छ।
पहिलो पटक तरकारी खेती गर्दै गरेका यहाँका किसान खेतीबाट आशावादी भएका छन्। जङ्गली जनावरले आफ्ना मिहिनेतमाथि नोक्सान पुर्याउने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको यहाँका किसान बताउँछन्।