बाग्लुङ– मध्यपहाडी लोकमार्ग छेउमै छ, नरेठाँटी बजार। हिउँद महिनामा यहाँ सहजरुपमा गाडी आउजाउ गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ।
नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन्। चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन्।
नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ। यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन्। लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन्।
चुक्तीखोलामा अहिले मोटरेबल पुल बन्न थालेपछि उनीहरुमा आशा पलाएको हो। दुई वर्ष अगाडि चुक्तीखोलामा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनीले काम गरेको थिएन। केही समययता पुल निर्माणले गति लिएको छ।
पुल निर्माण हुन थालेपछि स्थानीयसमेत हर्षित छन्। अहिले पुलको ढलानको काम हुन थालेको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको बजेटले यहाँ पुल निर्माण हुन थालेको हो।
२०७८ वैशाखमा पुल निर्माणका लागि सम्झौता भएको थियो। २०८९ वैशाखमा पुल निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म सम्पन्न भएको छैन।
निर्माण कम्पनीले समयमै पुल सम्पन्न नगरेपछि २०८९ पुससम्म म्याद थप गरिएको थियो। पुसमा पनि पुल बनेन।निर्माण कम्पनीले असार मसान्तसम्म सक्ने गरी धमाधम काम गरिरहेको गलकोट नगरपालिकाका सब–इन्जिनियर चन्द्र पुनले जानकारी दिए।
पुल निर्माणका लागि २ करोड ३ लाखमा जुम्ली÷विके जेभीले जिम्मा लिएको पुनको भनाइ छ। उनका अनुसार अहिले पुलको ८५ प्रतिशत काम सकिएको छ।
उनी भन्छन्, ‘सुरुमा निर्माण कम्पनीले विभिन्न समस्या देखाएर काम गरेन। अहिले तीव्र गतिमा काम भएको छ। यो पुल अघिल्लो वर्षमै सकिएर सञ्चालनमा आउनुपर्ने हो तर काम नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन। धेरै काम बाँकी छैन। अहिलेकै हिसाबले काम निरन्तर भयो भने अबका दुई/तीन महिनामा पुल सम्पन्न हुन्छ। यो बर्खामा सञ्चालन हुने देखिएको छ।’
अहिलेसम्म पुल नबन्दा आफूहरुले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको स्थानीय कृषक हिराबहादुर पुनले बताए। उनले खासगरी गाउँमा कृषकले बर्खे तरकारी बढी उत्पादन गर्ने जनाउँदै खोलामा पुल नबन्दा डोकोमा बोकेर बजारसम्म लैजानुपरेको दुखेसो पोखे।
पुल निर्माणपछि उत्पादनले बाह्रै महिना बजार पाउने पुनको भनाइ छ। सडक नजिक भए पनि बर्खामा धेरै समस्या भोग्नुपरेको पुन बताउँछन्।
‘हिउँदमा कुनै समस्या छैन। सानाठूला सबै गाडी खोला तर्छन्। बारीबाटै तरकारी बेच्न सकिन्छ। तर बर्खामा चुक्तीखोला उर्लेर आउँछ। खोला वारपार गर्न पनि निकै कठिन हुन्छ। वारपारका लागि बनाइएको झोलुंगे पुल पनि पुरानो भएको छ’, पुनले भने, ‘ज्यानलाई हत्केलामा राखेर पुल तर्नुपर्छ, न झोलुंगे पुल गतिलो छ, न मोटर गाडी तर्ने पुल। खोलामा पुल बनाउन थालेको पनि दुई÷तीन वर्ष भयो। अहिले त सक्छन् कि जस्तो छ।’
गलकोट–२ का अध्यक्ष हिमबहादुर भण्डारीले पुल समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई समयसमयमा आग्रह गरिरहेको बताए। उनले समयमै पुल नबन्दा बर्खामा स्थानीयलाई सामान ढुवानी गर्न निकै समस्या हुने गरेको जानकारी दिए। सबैभन्दा बढी मर्कामा कृषिक परेको उनको भनाइ छ।
अध्यक्ष भण्डारी भन्छन्, ‘खोला नजिकै विद्यालय र वडा कार्यालय रहेको छ। सेवाग्राही सेवा लिन आउँदा पनि खोलाको डर भइरहेको छ। यो पुल बनेपछि यस क्षेत्रका हजारौं नागरिकलाई सहज हुने थियो। बर्खाको समय गाउँमा कोही बिरामी परेर अस्पतालमा लैजान परे झन् ठूलो समस्या पर्छ। यस वर्षदेखि पुल सञ्चालनमा आउँछ कि भन्ने अपेक्षा छ। अहिले पुलको काम धमाधम भइरहेको छ।’