काठमाडौं- आज देशका धेरै ठाउँको मौसम बदली भएको छ। मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाडौं उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ।
दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताए। आज बिहान गण्डकीका केही क्षेत्रमा हल्का वर्षा भएको थियो। देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ।
प्रि–मनसुन भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ। अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।