बुटवल- श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले रुपन्देहीको हालको सैनामैना नगरपालिका दुधराक्षका गोपाल दर्जी भन्ने खुमे दर्जीलाई पक्राउ गरेको हो।
उनले मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुदाँ २०६१ मंसिर २४ गते चिर्पटले हानेर ४० वर्षीया राधिका दर्जीको हत्या गरेका थिए। राधिका दर्जीकी तेस्री श्रीमती थिइन्।
तत्पश्चात फरार रही भारतको दिल्लीमा ३ वर्ष काम गरेर फर्केका उनी परिचय लुकाएर दीपक रानाको नामबाट काठमाडौं १७ क्षेत्रपाटी ढल्कुमा जमुना दर्जीसँग चौथो विवाह गरी बसेका थिए।
लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा गत चैत १३ मा पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको सिआइबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए। ५८ वर्षीय दर्जीलाई शुक्रबार बुटवल ल्याइएको हो।