बिहीबार, भदौ ४, २०८३

मैदानबाहिरको लडाइँमा भारतीय कुस्तीबाज महिला

भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध तीन महिनापछि पुनः देशका अन्तर्राष्ट्रिय कुस्तीबाज महिला खेलाडीलगायत धर्नामा बसेका हुन्।
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- महिला रेसलर अर्थात् कुस्तीबाज खेलाडी पनि यौन उत्पीडनमा पर्न सक्छन् भन्ने सुन्दा झट्ट पत्यार नलाग्न सक्छ। तर यतिबेला छिमेकी मुलुक भारतमा महिला कुश्ती खेलाडीहरु यौन शोषणविरुद्ध धर्नामा बसेका छन्।  

भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध तीन महिनापछि पुनः देशका अन्तर्राष्ट्रिय कुस्तीबाज महिला खेलाडीलगायत धर्नामा बसेका हुन्। महिला रेसलरमाथि यौन शोषण हुन सक्छ भने आम महिलाको अवस्था के होला? यतिबेला भारतीय मिडिया, राजनीति क्षेत्र र समाज यसै प्रश्नमा रुमलिएको छ।

महिला कुश्ती खेलाडी विनेश फोगाट, साक्षी मलिक र बजरंग पुनियाले राजधानी दिल्लीको जंतर–मंतर पुगेर रेसलिङ फेडरेशनका अध्यक्ष बृजभूषण शरण सिंहमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाए। खेलाडी विनेश फोगाटले रुँदै भनेकी थिइन्, अध्यक्ष बृजभूषण सिंह र कोचले नेशनल क्याम्पमा महिला रेसलरमाथि यौन उत्पीडन गर्छन्। उनी हाम्रो निजी जीवनमा हस्तक्षेप गर्नुका साथै दुःख दिने गरेका छन्। उनी हाम्रो शोषण गरिररेका छन्। जब हामी ओलम्पिक खेल्न जान्छौं। न हामीसँग कुनै कोच हुन्छन् न फिजियो। यस विरुद्धमा हामीले आवाज उठाउँदा उनले हामीलाई धम्की दिन थाले।”

आरोपलाई खारेज गर्दै अध्यक्ष सिंहले भने महिला एथलिटसँग कुनै शोषण नभएको दाबी गरेका छन्। उनले सो आरोप साबित भएमा आफू फाँसीमा झुण्डिन तयार रहेको बताएका छन्। यस मामिलापछि केन्द्रीय खेलमन्त्री अनुराग ठाकुरले खेलाडीहरुसँग भेटघाट गरी जनवरीमा नै आरोपको जाँच गर्न पाँच सदस्यीय निरीक्षण समिति बनाएका थिए। यद्यपि तीन महिना बितिसक्दा पनि जाँच समितिले जाँचको प्रतिवेदन प्रस्तुत नगरेपछि पुनः महिला खेलाडीहरु धर्नामा बसेका छन्।

खेलाडीहरु बजरंग पूनिया र विनेश फोगाटसहित देशका शीर्ष कुश्तिबाजहरु विरोध प्रदर्शनका लागि पुनः जंतर–मंतर पुगेका छन्। सरकारसँग डब्ल्यूएफआई (भारतीय कुश्ति महासंघ) का प्रमुख सिंहविरुद्धका यौन उत्पीडनको आरोपको जाँच गर्ने निगरानी समितिको रिपोर्ट सार्वजनिक गर्ने माग गरिरहेका छन्।

पीडित खेलाडीहरुले कुस्तीबाजको मात्रै नभएर अन्य खेलाडीहको पनि साथ पाइरहेका छन्। यद्यपि यस मामिलामा खेलाडीह बाँडिएका छन्।

ओलम्पिक गोल्ड मेडलिस्ट नीरज चोपडा कुस्ती खेलाडीका साथमा उभिएका छन्। उनले देशका एथलिट न्यायका लागि लडिरहेको देखेर दुःख लागेको बताउँदै देशका लागि योगदान गरेका खेलाडीहरुको सम्मानको रक्षा गर्नुपर्ने सन्देश लेखेका छन्। उनले सिंहको विरुद्ध कारवाही सुनिश्चित गर्नको लागि अधिकारीहरुलाई आग्रह गर्नुका साथै खेलाडीहरुको साथ दिनुपर्ने बताएका छन्। 

सांसद तथा खेलाडी पीटी उषाले भारतीय ओलम्पिक संघको कार्यकारी समितिको बैठकपछि खेलाडीहरुले यसरी सडकमा प्रदर्शन गर्नु अनुशासनहिनता रहेको बताउँदै यसले देशको छबी बिग्रिरहेको बताइन्। साथै उनले संघलाई चलाउनको लागि तीन सदस्यीय समिति बनाउने घोषणा समेत गरेकी छन्। उनको यस भनाइसँग दुःखी खेलाडीहरुले एक महिला खेलाडीले यस्तो भन्नु दुखद् र लज्जास्पद रहेको बताएका छन्। यसका साथै भारतीय अभिनेता सोनु सुदले खेलाडीहरुले शोषणको लडाइँ अवश्य जित्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि खेलाडीहरुको तीन दिवसीय धर्ना समाप्त गर्दै खेलमन्त्री ठाकुरले आरोपको जाँचका लागि दिग्गज मुक्केबाज एम. सी. मेरीकामको अध्यक्षतामा पाँच सदस्यीय निरीक्षण समितिको घोषणा गरेका थिए। तर त्यसको कुनै रिपोर्ट नआएपछि ओलम्पिक पदक विजेताहरु बजरंग पूनिया, साक्षी मलिक र विनेश फोगाटको अगुवाइमा एक पटक फेरी बीजेपी सांसद बृजभूषण शरणसिंह विरुद्ध धर्नामा बसेका छन्।

साक्षी मलिकले भनिन्, ‘तीन महिनादेखि हामी मानसिक समस्यासँग लडिरहेका छौं। महिलाहरु ओलम्पिक मेडल ल्याउँछन्। तर हामी नै सुरक्षित छैनौं भने बाँकी महिला तथा बालिकाको के अवस्था होला ? हामीमाथि न्याय हुनेमा विश्वस्त छौं र चाहन्छौं कुश्ति एक सुरक्षित हातमा जाओस्। तर हाम्रो कुनै सुनुवाइ भइरहेको छैन।’ खेलाडीहरुले यस मामिलाका आरोपितको गिरफ्तारी नभएसम्म पछि नहट्ने अडान लिएका छन्। घटनालाई दिल्ली प्रहरीले जाँच गरिरहेको छ। 
 

प्रकाशित: Apr 28, 2023| 19:15 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्