काठमाडौं- नेपोभिट टायल दोस्रो वर्षमा प्रवेश गरेको छ। पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्य, पूर्वमहान्यायाधिवक्ता रमणप्रसाद श्रेष्ठ, नायक राजेश हमाल र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले नेपालमै पहिलो र एकमात्र टायल कम्पनीले गरेको काम सराहनीय भएको बताए। नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै सरकारको तर्फबाट हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी नेपोभिट टायलका अध्यक्ष शम्भुनाथ झाले नेपोभिट टायलले एक वर्षमा हासिल गरेको उपलब्धीहरुका बारेमा बोल्दै अब आगामी वर्षहरुमा निर्यातमा जोड दिने बताए। नेपालमा सेरामिक क्षेत्रको प्रचुर सम्भावनाहरुलाई उपयोग गर्दै टायल मात्र नभई विभिन्न सेरामिक वस्तुहरु उत्पादन गरी देशमा अझै रोजगारीको सिर्जना गर्न र विदेशी मुद्रा भित्र्याउन नेपोभिट टायल प्रतिबद्ध रहेको उनको भनाइ थियो।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपोभिट टायलका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिट टायललाई साथ सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिँदै नेपोभिट टायलको एक वर्षको चुनौती तथा सम्भावनाहरुको बारेमा जानकारी गराएका थिए। नेपोभिट टायल अझै बृहत् र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टायलहरु बजार भित्र्याउने उनको भनाइ थियो।
बाराको जितपुरमा अवस्थित नेपोभिट टायल नेपालको पहिलो र एकमात्र टायल कम्पनी हो। २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाइल उत्पादन गर्दै आएको छ।