बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रित्तिँदै गुल्मेली गाउँबस्ती, ११ महिनामा ५००० बढीले छाडे गाउँ

रित्तिँदै गुल्मेली गाउँबस्ती, ११ महिनामा ५००० बढीले छाडे गाउँ

गुल्मीमा २०७९ को १ वैशाखदेखि ८ चैतसम्म ११ महिनामा १ हजार ४०१ परिवारका ५ हजार ३४५ जनाले गाउँ छाडेका हुन्। 
 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

गुल्मी– बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य अभावका कारण अहिले पहाडी क्षेत्रमा बसाइँसराइ बढ्दो छ। यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिँदै गएका छन्। यस्तै अवस्थामा गुल्मीमा पनि छ।

गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ। जिल्लाबाट गत वर्ष २०७९ १ वैशाखदेखि ८ चैतसम्म ११ महिनामा १ हजार ४०१ परिवारका ५ हजार ३४५ जनाले गाउँ छाडेका छन्। 

राष्ट्रिय पञ्जीकरण विभागका अनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसिकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन्।

९ महिनामा मुसिकोटबाट १७५ परिवारका ७२२ एवं इस्माबाट ७२ परिवारका २४८ जनाले गाउँ छाडेका छन्। त्यस्तै, रेसुंगा नगरपालिकाबाट १०० परिवारका ३४८, कालीगण्डकी गाउँपालिकाबाट १०४ परिवारका ३९४, गुल्मीदरबार गाउँपालिकाबाट १२२ परिवारका ४८५ जनाले गाउँ छाडेको तथ्यांक छ।

सत्यवती गाउँपालिकाबाट १५९ परिवारका ५८१, चन्द्रकोट गाउँपालिकाबाट ११८ परिवारका ४५५, रुरुक्षेत्र गाउँपालिकाबाट ११४ परिवारका ४१४, छत्रकोट गाउँपालिकाबाट १३७ परिवारका ५३१ जनाले जिल्ला छाडेका छन्।

यस्तै, धुर्कोट गाउँपालिकाबाट १०१ परिवारका ३९१, मदाने गाउँपालिकाबाट १११ परिवारका ४११ र मालिका गाउँपालिकाबाट ८७ परिवारका ३३१ जनाले गाउँ छाडेका छन्। 

मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बसाइँसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको बताए। ‘स्वास्थ्य र शिक्षा राम्रो भए नागरिक गाउँ बस्छन्,’ उहाँले भने, ‘कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना छ।’

अर्यालले रोजगारी सिर्जना र मानिसको अत्यधिक बसाइँसराइ रोक्न भने आफूहरुको कदम पर्याप्त नभएको बताए। यसका लागि अन्तरपालिका समन्वय एवं संघीय र प्रदेश सरकारले पनि ठोस योजना बनाउनुपर्ने उनको सुझाव छ।

प्रकाशित: Apr 28, 2023| 15:24 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्