काठमाडौं- भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाडौं कपनस्थित घरका घरधनी क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका छन्।
कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घर भाडावाला इलाइट हिमालयन एडभेन्चर प्रालिले अनधिकृत भण्डारण गरेको अक्सिजन ग्यास सिलिण्डर विस्फोटनबाट भएको क्षतिको दाबी गर्दै हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
बूढानिलकण्ड नगरपालिका वडा नं. ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको साढे दुई तल्ले आरसीसी पक्की घर भाडावाला इलाइट हिमालयन एडभेन्चर प्रालिले अनधिकृत भण्डारण गरेको ग्यास सिलिण्डर २०७९ असोज ५ मा विस्फोट हुँदा घर पूर्ण रुपमा ध्वस्त भएको थियो।
नगरपालिकाले गरेको इन्जिनियरिङ अध्ययनपछि पूर्ण रुपमा घर ध्वस्त भएकाले घर रेक्ट्रोफिटिङबाट समेत प्रयोगमा आउन नसक्ने निष्कर्ष निकाली भग्नावशेष हटाएर नयाँ घर बनाउनुपर्ने सिफारिस भएपछि घरधनीहरु भाडावाला कम्पनी र तिनका सञ्चालकसँग क्षतिपूर्ति दावी गर्दै अदालतमा पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, बूढालिनकण्ठ नगरपालिका लगायत सबैजसो निकायमा धाउँदा समेत भाडावाला कम्पनीले मौखिक र लिखित रुपमा क्षतिपूर्ति ब्यहोर्न कबुल गरे नि घटना भएको छ महिना बितिसक्दा समेत आफूहरुलाई क्षतिको रकम नदिएको भन्दै घरधनी टंक घिसिङ र उनकी श्रीमति दालमु कित्तर घिसिङले क्षतिको रकम माग गर्दै मुद्दा दायर गरेको उनीहरुका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई आवश्यक अनुसन्धान गरी उचित क्षतिपूर्तिको लागि पहल गरिदिन सिफारिस गरे नि मौखिक र लिखत प्रतिबद्धताका बाबजुद पीडित घरधनीले भाडावाला कम्पनीबाट क्षतिको रकम नपाएपछि आफ्नो पक्ष मुद्दामा गएको अधिवक्ता लुईंटेलको दावी छ। मुद्दा परेपछि काठमाडौं जिल्ला अदाललते कम्पनीको शेयर कारोबार, सञ्चालकको नाममा रहेको जग्गा र कम्पनीको बैंक खाता रोक्का गरिसकेको छ।
बूढानिलकण्ठ नगरपालिका- ११ वडा कार्यालयले वडाध्यक्ष राजु अधिकारीको संयोजकत्वमा एउटा क्षतिपूर्ति समिति गठन गरी क्षतिपूर्ति दिलाउन पटकपटक छलफल गराउँदा समेत क्षतिपूर्ति दिने दिलाउने विषयमा सहमति हुन नसकेको र विपक्षी इलाइट हिमालयन एडभेन्चर्स प्रालि तथा सञ्चालकहरुले क्षतिपूर्तिको रकम दिनेतर्फ कुनै चासो नदेखाएपछि पीडित घरधनीले मुद्दा दर्ता गराएका हुन्।
गत असोज ५ मा भएको विष्फोटमा कम्पनीमा कार्यरत तीनजना कामदार कर्मचारीहरुको समेत मृत्यु भएको थियो भने घर र घरमा रहेका सामानहरु आगजनीमा ध्वस्त भएका थिए।