काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाले ज्यान गुमाएको बताएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगर–११ बबरमहलस्थित सडकमा बा१क ३३०० नम्बरको टिपर कोल्टे पर्दा नजिकैको ट्रसमा च्यापिएर चालक दोलखा ठूलोपाटल गाउँपालिका–१ घर भई भक्तपुर जगती बस्ने ३७ वर्षीय झकास पाख्रिनको शुक्रबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, बाजुराको बूढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००२त४९७२ नम्बरको ट्रयाक्टरमा चढ्ने क्रममा ट्रयाक्टरको टायरमा च्यापिएर सोही ठाउँ बस्ने ३१ वर्षीय खम्म रावतको बिहीबार राती घटनास्थलमै मृत्यु भएको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चितवनको भरतपुर महानगर–२८ शाझापुरस्थित सडकमा ना२२प ६८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय जलवा महतोको बिहीबार राती मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको कलैया उपमहानगर–२३ स्थित सडकमा ना५त८२५० नम्बरको ट्रयाक्टरमा बा८०प ४०२१ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगर–२१ बस्ने २५ वर्षीय राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको छ।
ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।