पाँचथर- पाँचथरको फालेलुङ–६ का शान्तकुमार राईले श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन्।
५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए। त्यसपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सान्तकुमारकी आमाको वैशाख १३ गते निधन भएको थियो। आमाको निधन पछि मूलघरमा आमाको किरिया गर्न बसेका राईले पिसाब फेर्न जाने बहाना बनाएर आफ्नो घर गई श्रीमतीलाई बिहीबार अपराह्न खुकुरी प्रहार गरेका थिए।
पिसाब फेर्न गएका शान्तकुमार घर नफर्केपछि श्रीमतीलाई रगतपक्षे भेटेका स्थानीयले सोधपुछ गर्दा बिमरानीले श्रीमानले खुकुरी प्रहार गरेको बताएकी थिइन्। त्यसपछि खोजी गर्दै जाादा घर नजिकै रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
मृतकको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउनका साथै घाइतेलाई उपचारार्थ बीएण्ड सी अस्पताल बिर्तामोड पुर्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिमरानी सख्त घाइते भएकी छन्। उनले श्रीमतीलाई हत्या गर्ने मनसायले नै खुकुरी प्रहार गरेको र मृत्यु भएको ठानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।