काठमाडौं– गुल्मीको रेसुंगा विमानस्थलमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि) को परीक्षण उडान सफल भएको छ।
शुक्रबार बिहान ७ बजेर ३९ मिनेटमा रेसुंगा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज सफल अवतरण भएको हो।
क्याप्टेन मनिष विष्ट नेतृत्वको टोलीले जहाज उडाएको थियो। काठमाडौंबाट करिब ५० मिनेटको उडानपछि रेसुंगा विमानस्थलमा जहाज अवतरण गरिएको क्याप्टेन विष्टले बताए। यसअघि २०७५ र गत २४ पुसमा तारा एयरलाइसन्सले सफल परीक्षण उडान गरेको थियो।
निगम र नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले परीक्षण उडान गरेको हो। २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो।
कुल ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ। १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुद्र सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा छ।
आजको परीक्षण उडान सफल भएसँगै व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए। कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेलको भनाइ छ।
‘रेसुंगा–काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर ६ हजार ५०० हुने भनिए पनि अन्तिममा ६ हजारसम्म कायम हुन सक्छ’, उनले भने।
निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए। लामो समयपछि जहाज चढेर काठमाडौं आउजाउ गर्ने गुल्मीबासीको सपना अब चाँडै साकार हुने रेसुंगा नगर प्रमुख खिलध्वज पन्थीले बताए।