काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ हुँदै गएको बताएका छन्। बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तरलतामा सुधार आएको बताए।
उनले भने, ‘ब्याजदरको दबाब कम हुन लागेको छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। मुद्रास्फीति घट्दो क्रममा छ। आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको छ,' उनले भने।
पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भए पनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पुँजीकोष पर्याप्त रहेको र जोखिम नरहेको उनले बताए। बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको उनको भनाइ थियो। नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको गभर्नरले बताए।