काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार इलाममा पहिचान पक्षधरले कालो झण्डा देखाएका छन्।
प्रदेशको कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका हुन्।
ओली एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न इलाम गएका हुन्। उनलाई हिजो गृहजिल्ला झापामा पनि पहिचान पक्षधरले कालो झण्डा देखाएका थिए।
इलाममा आयोजित कार्यक्रममा ओलीले प्रदेश नामकरणको विषयमा आन्दोलन गर्नुको औचित्य नरहेको बताएका छन्। जनताको मत जितेर नाम परिवर्तन गर्न आन्दोलनकारीलाई सुझाव दिँदै नेता ओलीले संविधानबमोजिम नै प्रदेशको नाम राखिएको बताए। ओली आजै पाँचथरको फिदिमतर्फ लागेका छन्।