काठमाडौं- नेपाली चियाको इतिहास लगभग १६० वर्ष पुरानो रहेको मानिन्छ। इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० मा इलाममा रोपण गरेपछि चियाखेती सुरुआत भएको ऐतिहासिक प्रमाण छ।
तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यावसायिक चिया खेतीको प्रवर्द्धन भएको थियो।
नेपालमा चिया तथा कफी क्षेत्रको योजनाबद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरेपछि साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको देखिन्छ।
भन्सार विभागको आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक टन चिया उत्पादन भएको छ।
हाल १५ हजार बढी चिया कृषक र ६० हजार बढी श्रमिक चियाको विभिन्न मूल्य शृंखलामा संलग्न रहेका छन्। नेपालले अधिकांश उपभोग्य वस्तु आयात गरिरहेका बेला मुलुकलाई आवश्यक पर्ने चिया आफैं उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको छ।
आव २०७६/७७ मा २ अर्ब ७८ करोड २८ लाखको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकामा २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाखको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो।
आव २०७८/७९ मा भने ३ अर्ब ४३ करोड ४३ लाख बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यसैगरी आव २०७६/७७ मा ७ करोड ७३ लाख ९७ हजारको २१८ मेट्रिक टन चिया आयात भएकामा २०७७/७८ मा १५ करोड १३ लाख १२ हजारको ३४६ मेट्रिक टन चिया आयात भएको तथ्यांक छ।
भन्सार विभागका अनुसार आव २०७८/७९ मा ८ करोड ३६ लाख ४५ हजारको २०३ मेट्रिक टन चिया आयात भएको देखिन्छ।
त्यस्तै, आव २०७७/७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८२५ मेट्रिक टन रहेकामा आव २०७८/७९ मा बढेर १३ हजार ८८५ मेट्रिक टन पुगेको छ। यसले अघिल्ला वर्षमा भन्दा चिया आयात पनि ४० प्रतिशत बढीले घटेको छ।
विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार चिया उद्योगलाई गुणस्तरीय उत्पादन एवं अन्तर्राष्ट्रिय बजारमा टिकाइराख्न सरकारी पहल अपरिहार्य रहेको सरोकारवालाको सुझाव छ।
विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए।
नेपाली चियाको ९० प्रतशितभन्दा बढी निकासी भारतसँग रहेको छ। तर प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेकोजस्ता आरोप खेप्नुपरेको छ।
यसले नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि अति न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकिरहेको छैन।
उत्पादन सुरु भएको डेढ सय वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्य नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन।
चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधार कमी, भन्सार नाकामा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुतगतिमा नतिजा दिन सक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोत–साधनलगायत अन्य कृषिजन्य उद्योगसरह सहुलियत ऋणलगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको छ।
बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प छैन। हाल भारत, श्रीलंकालगायतका राष्ट्रले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन्।
नेपालले पनि आमउपभोक्ताको मागअनुसार संख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टकृत गुणस्तरमा ध्यान दिन जरुरी देखिन्छ।
कार्यकारी निर्देशक भट्टराई नेपालले पनि आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरुप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, युरोपियन राष्ट्रसँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याउँछन्।
यसले गर्दा वार्षिक करिक ४ अर्ब मूल्य बराबरको चिया निर्यात हुँदै आएकामा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि त्यसलाई बढाएर १० अर्बदेखि रु १२ अर्बको निर्यात मूल्य बनाउन सकिने सम्भावना नेपाली चियाले बोकेको छ।
मनाइँदै राष्ट्रिय चिया दिवस
१५ वैशाख शुक्रबार यस वर्ष राष्ट्रिय चिया दिवस मनाइँदै छ। दिवसको नारा ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौं’ रहेको छ।
‘राष्ट्रिय चिया दिवस’ को २७औं संस्करण १५ वैशाखमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवस अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
दिवस अवसरमा बिहीबार काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी हुने चियाका क्रेता–बिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिएको छ।
कार्यक्रममा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलिटी प्रणाली’ को सुरुआतसँगै राष्ट्रिय युवा चिया उद्यमीलाई सम्मानसमेत गरिएको जनाएको छ।
यस वर्षको चिया दिवसको मूल समारोह विदेशी पाहुना, सरकारका विशिष्ट व्यक्तित्वको उपस्थितिमा अर्थोडक्स चियाको राजधानी मानिने इलामको फिक्कलमा १५–१६ वैशाखमा आयोजना गरिने भएको छ।
उक्त कार्यक्रममा चिया प्रदर्शनी, टी टेस्टिङ, चिया बगैंचा अवलोकन, नेपाल र विदेशी चिया व्यापारीबीच शिष्टाचारपूर्ण व्यापारिक बैठकलगायत विविध कार्यक्रमको आयोजना गरिनेछ।