सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इम्बोस्ड नम्बरमा प्रदेशको नाम नेपाली, अन्य अंग्रेजीमै

इम्बोस्ड नम्बरमा प्रदेशको नाम नेपाली, अन्य अंग्रेजीमै

सरकारले इम्बोस्डमा राख्ने भाषा टुंगो लगाए पनि प्राविधिक विषय जटिल हुँदा नम्बर प्लेट छपाइमा ढिलाइ।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं– सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी (नेपाली) र अन्य नम्बर अंग्रेजीमै यथावत् रहने बताएको छ। नाम टुंगो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ। 

प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुंगो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजंग थापाले जानकारी दिए। ‘जुन प्रदेशको नाम लेखिएको थियो, त्यो नेपालीमा हुन्छ। नम्बर प्लेटमा नेपालको झन्डा रहेको छ। त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ’, उनले भने।

इम्बोस्ड नम्बर आपूर्ति गर्न बंगलादेशी कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ। पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने गरी २०७३ मा सम्झौता भएको थियो। 

सरकारले इम्बोस्डमा राख्ने भाषा टुंगो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन। ‘नम्बर प्लेटमा देवनागरी लिपि राख्न उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ’, इन्जिनियर थापाले भने, ‘उनीहरुले त्यसका लागि तयारी गर्दै छन्। अब छिट्टै सुरु हुन्छ। हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौं।’

बीबीआइएनअन्तर्गतका बंगलादेश, भुटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्न सक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ छ।

भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए। १२ वैशाखको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अंग्रेजीमा र अंगे्रजीमा गरी तीन वटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए। 

गत २० चैतको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो। तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताएका थिए।

‘त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौं। त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौं’, उनले भनेका थिए। 

सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए। धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो। यसअघि इम्बोस्ड नम्बर अंग्रेजीमा छपाइ हुँदै आएको थियो। 

निर्देशनको पर्खाइमा विभाग

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ। विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताए।

‘देवनागरी लिपिमा छाप्ने भन्ने भयो तर कुन–कुन अक्षर र अंक देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन’, उनले भने, ‘मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ।’

विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ। ‘अंग्रेजीलाई अमान्य भनेको होइन। इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’अनुसार प्लेट छपाइ भइरहेको छ’, सूचना अधिकारी पनेरुले भने। हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको उनले बताए।

प्रकाशित: Apr 27, 2023| 15:03 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्