शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सार कर्मचारीलाई पारदर्शी हुन अर्थमन्त्री महतको आग्रह

भन्सार कर्मचारीलाई पारदर्शी हुन अर्थमन्त्री महतको आग्रह

राज्यको राजस्व संकलनजस्तो संवेदनशील सेवामा कार्यरत भन्सार कर्मचारीले कुनै पनि तहमा माथि देखाएर जिम्मेवारीको दुरुपयोग गर्ने र अनुचित रकम लिने काम गर्ने छुट नभएको मन्त्री महतको चेतावनी।
 |  बिहीबार, वैशाख १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १४, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीलाई इमानदार र पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।

National life

बिहीबार विराटनगर पुगेका अर्थमन्त्री महतले विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा राजस्व उठाउने जिम्मा पाएका कर्मचारीले पारदर्शी र इमानदारी देखाउनुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘तपाईंहरु राज्यको राजस्व संकलनजस्तो संवेदनशील सेवामा हुनुहुन्छ। कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं। मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ।’  

मन्त्री डा. महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताए। कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारी र पारदर्शी रुपमा पूरा गरे मात्र कामको मूल्यांकन हुन सक्ने उनको भनाइ छ।

यो आर्थिक वर्षको असारसम्म भन्सार असुलीको प्रतिशत निकै बढ्ने अपेक्षा गरेको उनले बताए। राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन उनले कर्मचारीलाई निर्देशन दिए।

मन्त्री डा महतले भने, ‘पारदर्शीका साथ काम गरौं। सेवाग्राहीलाई सहज र सौहाद्रपूर्ण वातावरण निर्माण गरौं।  नियम–कानुनअनुसार काम गरौं। आफूले गर्नुपर्ने काममा सम्झौता नगरे पारदर्शी हुन सकिन्छ।’ 

प्रकाशित: Apr 27, 2023| 12:56 बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्