काठमाडौं- सामसङ ब्रान्डको टेलिभिजनको उत्पादन नेपालमै सुरू भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा नेतृत्वको गोल्छा ग्रुप अन्तर्गतले हिम इलेक्ट्रोनिक्सले सामसङ टेलिभिजनको उत्पादन थालेको हो।
उद्योगमन्त्री रमेश रिजाल र नेपालका लागि कोरियारी राजदूत चोङसङ पार्कले संयुक्त रूपमा नवलपरासीमा उद्योग उद्घाटन गरेका छन्। गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका उद्योग सञ्चालनमा ल्याएको हो।
अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुन गइरहेको नेपालमा सामसङ टेलिभिजन उत्पादन हुनुले नेपाल उत्पादनमूलक देशका रूपमा विकास हुँदैछ भन्ने सन्देश दिएको राजदूत पार्कको विश्वास छ। गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले नेपाली अर्थतन्त्रलाई बलियो बनाउन उत्पादित वस्तुमा भ्यालु एडिसन आवश्यक रहेको भन्दै सामसङसँगको सहकार्यमा उत्पादन मुलुक उद्योग स्थापना गरिएको बताए।
‘इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यति ठूलो उद्योग स्थापना भएको पहिलो पटक हो,’ गोल्छाले भने। सामसङ र बजाज मोटरसाइकल एसेम्बलमा गरी हाल नवलपरासीको यो उद्योग परिसरमा ४ सय जना महिलाहरूले रोजगारी पाएको गोल्छाले बताए। आगामी दुई वर्षभित्र १ हजारलाई रोजगार दिने लक्ष्य रहेको पनि गोल्छाले सुनाए।
गोल्छाका अनुसार कम्पनीले आउँदा दिनहरुमा वासिङ मेसिन लगायतका इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गरेर दक्षिण एसियाली बजारमा समेत पुर्याउने योजना बनाएको छ। सामसङका दक्षिण एसिया प्रमुख जेबी पार्कले नेपालमा टेलिभिजन उद्योग खोल्न पाउँदा खुसी लागेको बताए।
गोल्छा ग्रुपले २०२२ को अगष्ट २२ मा उद्योग शिलान्यास गरेको थियो। गत अप्रिल ५ बाट परिक्षण उत्पादन थालिएको थियो। ३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका टेलिभिजन यहाँ उत्पादन हुनेछन्।