काठमाडौं- देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। वाग्मती प्रदेशलगायत विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो। कोसी र मधेस प्रदेशमा भने आज बिहान वर्षाको सम्भावना छैन।
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
आज बिहान वर्षा नभए पनि कोसी र मधेस प्रदेशमा अपराह्नपछि वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। पश्चिमबाट पूर्वतर्फ मौसमी प्रणाली सरिरहेकाले अपराह्नपछि मधेस र कोसी प्रदेशमा पनि वर्षा बताइएको छ।
काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा भइरहे पनि केही समयपछि रोकिने तर पुनः वर्षा हुने सम्भावना रहेको छ। विभागका अनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज हिमपातको पनि सम्भावना रहेको छ। आजको तुलनामा भोलि मौसम केही खुल्ने मौसमविद् झाको भनाइ छ। अहिले भारतको मध्य प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली बनिरहेको छ। जसका कारण नेपालमा मौसममा बदली र वर्षा भइरहेको मौसमविद् झाको भनाइ छ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।