बिहीबार, भदौ ४, २०८३

स्थानीयवासीको सक्रियतामा पक्की पुल निर्माण

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

गुल्मी- स्थानीयवासीको आफ्नै सक्रियताले गुल्मीमा पक्की पुलको निर्माण गरी आज उद्घाटन गरिएको छ। जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयवासीको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफामा पुग्नका लागि घैँटेआँप कोटेश्वर पुलको निर्माण भएको थियो।
 
हाल रोजगारीको सिलसिलामा जापानमा रह]का आँपचौरका स्थानीयवासी किरण खरेलले पुल निर्माणको अगुवाइ गरेका थिए। सोअन्तर्गत १३ मिटर लम्बाइ र दुई मिटर चौडाइको पक्की पुल रु सात लाख ६० हजारमा निर्माण सम्पन्न भएको छ। खरेलसहित हाल रोजगारी र व्यवसायको सिलसिलामा युरोप रहेका फणिन्द्र भण्डारी र देशविदेशमा रहेका आँपचौरवासीले पक्की पुलको निर्माण गर्नुभएको स्थानीयवासी डिल्लीराज अर्यालले जानकारी दिए। 

निर्माण सम्पन्न पुलको आज आँपचौरका सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय दुर्गादत्त अर्यालले उद्घाटन गरे। उनले विदेशमा रहेर पनि जन्मभूमिको माया लागेर गरेका कामले आफू प्रसन्न भएको बताए। 

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले धार्मिक क्षेत्रमा जान वर्षायाममा भएको असहजता मेटाउने सबैलाई धन्यवाद व्यक्त गरे। ‘विदेशमा रहनुभएका आँपचौरवासीको सहयोग प्रशंसायोग्य छ’, उनले भने, ‘स्थानीयवासीको सक्रियता भएमा असम्भव भन्ने केही हुँदैन।’ पुल निर्माणका लागि जय जय कोटेश्वर समूहले अभियान नै चलाएको थियो। अभियानअन्तर्गत देश तथा विदेशमा रहनुभएका आँपचौरवासीले आर्थिक सहयोग गरेका छन्। 

पक्की पुलले मुसिकोट नगरपालिका–५ र चन्द्रकोट गाउँपालिका–८ लाई जोडेको छ। दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुलाई पक्की पुलले राहात प्रदान गर्नेछ। पुलका कारण कोटेश्वर क्षेत्रमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।
 

प्रकाशित: Apr 23, 2023| 21:46 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्