काठमाडौं- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्याको ६६ दशमलव २ प्रतिशत नगरपालिकाका र ३३ दशमलव ८ प्रतिशत गाउँपालिकामा बस्ने गरेको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ को नगरपालिका तथा गाउँपालिकास्तरमा आज सार्वजनिक गरिएको नातिजामा नगरपालिकामा बस्ने जनसङ्ख्या एक करोड ९२ लाख ९६ हजार सात सय ८८ (६६ दशमलव २ प्रतिशत) र गाउँपालिकामा बस्ने जनसङ्ख्या ९८ लाख ६७ हजार सात सय ९० (३३ दशमलव ८ प्रतिशत रहेको छ । जुन २०६८ सालको जनगणनाअनुसार नगरपालिकामा बस्ने जनसङ्ख्या १७ दशमलव १ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसङ्ख्या ८२ दशमलव ९ प्रतिशत रहेको थियो।
जनगणना सन्दर्भ दिन २०७८ साल मङ्सिर ९ गते सार्वजनिक गरिएको तथ्याङ्कै आधारमा नगरपालिका र गाउँपालिकाको नजिता आज सार्वजनिक गरिएको हो। जुन तथ्याङ्कअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ (४८ दशमलव ८७ प्रतिशत) र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव १३ प्रतिशत) रहेको छ।
नेपालको लैङ्गिक अनुपातप्रति एक सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ जना रहेको छ भने नगरपालिकाको ९६ दशमलव ०६ र गाउँपालिकाको ९४ दशमलव ६८ रहेको नगरपालिका तथा गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। भौगोलिक क्षेत्रअनुसार देशको हिमालमा नगरपालिकामा बस्ने जनसङ्ख्या ३५ दशलव ६ प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ६४ दशमलव ४ प्रतिशत रहेको छ ।
यसैगरी, पहाडमा नगरपालिकामा बस्ने जनसङ्ख्या ६३ दशलव ३ प्रतिशत र गाउँपालिकामा बस्ने जनसङ्ख्या ३६ दशमलव ७ प्रतिशत रहेको छ । तराईमा नगरपालिकामा बस्ने जनसङ्ख्या ७१ दशमलव ८ र गाउँपालिकामा बस्ने जनसङ्ख्या २८ दशमलव २ प्रतिशत रहेको छ। जनगणना अवधिमा नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्विदर शून्य दशमलव ९२ प्रतिशतप्रति वर्ष रहेको छ। जुन २०६८ सालको जनगणनामा १ दशमलव ३५ प्रतिशत प्रतिवर्ष थियो भने नगरपालिकाको वार्षिक औसत जनसङ्ख्या वृद्विदर १ दशमलव ३६ र गाउँपालिकाको शून्य दशमलव ११ प्रतिवर्ष रहेको छ।
जनगणनाको नतिजाअनुसार नेपालको जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसङ्ख्या) एक सय ९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ। जुन २०६८ सालमा एक सय ८० वर्ग किमी मात्र थियो भने नगरपालिकाको जनघनत्व तीन सय ७३ र गाउँपालिकाको जनघनत्व एक सय पाँचजना प्रतिवर्ग किलोमिटर रहेको छ।
जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने कूल परिवार ६६ लाख ६६ हजार नौ सय ३७ मध्ये नगरपालिकामा बसोबास गर्ने परिवार ४४ लाख ७९ हजार ६ सय ६२ र गाउँपालिकामा बसोबास गर्ने परिवार २१ लाख ८७ हजार दुई सय ७५ रहेका छन्।
नेपालमा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ भने नगरपालिकामा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३१ र गाउँपालिका ४ दशमलव ५१ जना रहेको छ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रको नगरपालिकामा ४ दशमलव २३, पहाडको नगरपालिकामा ३ दशमलव ९० र तराईको नगरपालिकामा ४ दशमलव ६३ जना रहेको छ भने गाउँपालिकामा हिमालमा ४ दशमलव ३८, पहाडमा ४ दशमलव १४ र तराई क्षेत्रमा ४ दशमलव ९९ जना सदस्य रहेका छन्।
नेपालमा कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवारमध्ये ६८ दशमलव ५ प्रतिशत परिवारमा पुरुष परिवारमूली र ३१ दशमलव ५ प्रतिशत महिला परिवारमूली रहेका छन्। नगरपालिकामा ६७ दशमलव २ प्रतिशत र गाउँपालिकामा ७१ दशमलव १ प्रतिशत परिवारमूली पुरुष रहेका छन् भने नगरपालिकामा ३२ दशमलव ८ प्रतिशत र गाउँपालिकामा २८ दशमलव ९ प्रतिशत परिवारमूली महिला रहेका छन्।