बिहीबार, भदौ ४, २०८३

बाघको आक्रमणबाट ज्यान गुमाएको परिवारलाई किरिया खर्च

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

बेदकोट- बाघको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले किरिया खर्चबापतको ५० हजार हस्तान्तरण गरेको हो।

मृतकका श्रीमान् डम्बर चन्दलाई रु ५० हजारको चेक हस्तान्तरण गरिएको एनटीएनसी मझगाउँका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए।

एनटीएनसी मझगाउँका प्रमुख जोशी, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारी, कुण्डा सब–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादव, बेलौरी नगरपालिका–८ का वडाध्यक्ष बिसराम रानालगायतको उपस्थितिमा पीडित परिवारलाई किरिया खर्चबापत रकम हस्तान्तरण गरिएको हो। 

सरकारले पीडित परिवारलाई रु १० लाख बराबरको राहत रकम उपलब्ध गराउने छ। सरकारले उपलब्ध गराउने राहत बराबरको रु १० लाख आवश्यक कागजातलगायत प्रक्रिया पूरा गरेपश्चात प्रदान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले बताए। 

चैत ८ गते बिहान बेलौरी नगरपालिका–८ पचुइँस्थित खप्टिनाला नजिक घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेको थियो। अर्को दिन भेटिएको शव परीक्षणपश्चात् पीडित परिवारले दाहसंस्कार गरेका छन्। चन्दका दुई छोरी र एक छोरा छन्।
 

प्रकाशित: Apr 23, 2023| 20:57 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्