बिहीबार, भदौ ४, २०८३

'वानीरा पुरस्कार' वैरागी काइँलालाई

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- साहित्यकार बैरागी काइँलालाई नगद रु एक लाख राशिको 'वानीरा प्रज्ञापुरस्कार' प्रदान गरिएको छ। नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो।

त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई रु ५० हजार राशिसहित वानीरा पुरस्कार प्रदान गरियो। भीमबहादुर बोटेलाई पनि रु २५ हजार नगदसहित वानीरा सेवा पुरस्कार प्रदान गरिएको छ। 

सबै पुरस्कार आज आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले प्रदान गरे। साहित्यकार काइँलाले विशेषगरी तेस्रो आयामको प्रवर्द्धनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याएका छन्।

नेपाली साहित्यका विश्व नारी रत्न डा वानीरा गिरीको सम्झनामा पुरस्कार स्थापना गरिएको हो। उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुन्। कोरोनाका कारण गिरीको विसं २०७८ जेठ ९ गते निधन भएको थियो। गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहु, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार आदिबाट सम्मानित भएका थिए।

सो अवसरमा पुरस्कृत काइँला र पराजुलीले भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलेख’ को लोकार्पण गरेका थिए। पुरस्कृतद्वय काइँला र पराजुलीले मुलुकको सबैखाले भाषा तथा साहित्य संरक्षणका लागि सबै सर्जक जुट्नुपर्ने खाँचो औँल्याए। पुरस्कारले साहित्य सिर्जनाको यात्रालाई थप ऊर्जा थपेको उनीहरूको भनाइ थियो।

फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईं र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले संस्थाले साहित्य सिर्जना र प्रवर्द्धनका लागि संस्थाले खेलको भूमिकाबारे उल्लेख गरेका थिए।

प्रकाशित: Apr 23, 2023| 20:15 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्