काठमाडौं- खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन्। उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
शिखहरूका लागि पञ्जाबमा छुट्टै देश 'खालिस्तान' बनाउने 'वारिस पञ्जाब दे' अभियानको नेतृत्व सिंहले गरिरहेका थिए। हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचारअनुसार उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ।
त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरी राखिएको छ। उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो। गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुन सक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जारी अनुमति नदिन आग्रह गरेको थियो।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम थियो। भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।
३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुन: जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ। त्यसलगत्तै विभिन्न देशमा खालिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ। केही समयअघि बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए।