कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५, वन समितिका सुनील बोहरा, भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन्।
पूर्व–पश्चिम राजमार्गमा शंकास्पद रूपमा पैदल हिँडिरहेका बेला चारैजनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जाँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद २८ हजार ५०० रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकामाथि प्रहरीले अनुसनधान गरिरहेको छ।