काठमाडौं- आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई नि:शुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिम सुरु गरेकाे छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरे।
कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए। जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे।
अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखेका छन्। उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए।
‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ, तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन्,’ उनले भने।
तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ। तालिममा १५ जना महिलाहरु सहभागि छन्।